सामान किन्दा बिल लिन र बेच्दा बिल दिन राजस्व विभागको आग्रह



काठमाडौँ,साउन २० । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक अर्थात् बिल लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो। कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार उक्त कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिनुपर्नेछ।

यसैगरी, हालसम्म स्थायी लेखा नम्बर नलिई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई तत्काल स्थायी लेखा नम्बर लिएर कर प्रणालीमा आबद्ध हुन विभागले आग्रह गरेको छ। सबै व्यवसायीले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल जारी गर्नुपर्ने व्यवस्थासमेत विभागले स्मरण गराएको छ।

विभागले बीजक लिने–दिने अभ्यास प्रभावकारी बनाउँदा कर प्रणाली थप पारदर्शी हुने, वास्तविक कारोबार अभिलेखीकरणमा सहयोग पुग्ने र करदातामा स्वेच्छिक कर अनुपालनको संस्कृतिको विकास हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्