वर्षा र हुस्सुका कारण ट्रक चिप्लिँदा एक जनाको मृत्यु



मकवानपुर,साउन २० । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको छ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण सडकमा चिप्लिएर करिब एक सय मिटर तल चण्डी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटना राति करिब २ः३० बजे भएको हो।

दुर्घटनामा राक्सिराङ गाउँपालिका–९ निवासी करिब ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको हो। चालकका काका नाता पर्ने कार्कीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उद्धार गरी हेटौँडास्थित अस्पतालमा उपचारका लागि लगिएकोमा बुधबार बिहान ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

ट्रक चालक राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। ट्रकमा चालकसहित दुई जना मात्र सवार थिए।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सनम मल्लको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर दुवै जनाको उद्धार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार प्रारम्भिक अनुसन्धानमा वर्षा र बाक्लो हुस्सुका कारण सडक चिप्लिएपछि ट्रक दुर्घटनामा परेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्