पशुपतिनाथमा वाग्द्वारको स्वच्छ पानी ल्याउने तयारी



काठमाडौँ, साउन २० । पशुपतिनाथ मन्दिरमा अभिषेक तथा स्नानका लागि बागमती नदीको मुहान वाग्द्वारबाट स्वच्छ पानी ल्याउने तयारी अघि बढाइएको छ।

पशुपति क्षेत्र विकास कोषले वाग्द्वारदेखि करिब २१ किलोमिटर पाइपलाइनमार्फत पानी ल्याउने विषयमा प्रारम्भिक छलफल थालेको हो। हाल बागमतीको पानी प्रदूषित भएकाले मन्दिर परिसरकै इनारको पानी प्रयोग हुँदै आएको छ।

योजनाका लागि गोकर्णेश्वर नगरपालिकाले एक करोड र बागमती प्रदेश सरकारले पाँच करोड रुपियाँ बजेट सुनिश्चित गरेका छन्। तर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सहमति तथा प्राविधिक र कानुनी प्रक्रियाका कारण योजना अघि बढ्न सकेको छैन।

कोषले प्राविधिक सर्वेक्षण तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि योजना अघि बढाउने जनाएको छ। निकुञ्जले भने आफ्नो क्षेत्रको पानी उपयोग गर्न पूर्वस्वीकृति अनिवार्य रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्