हवाई भाडा बढ्यो, काठमाडौँ–धनगढीको टिकट ८८० रुपैयाँ महँगियो
काठमाडौं,साउन २० । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक हवाई भाडा वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धनको मूल्यअनुसार हवाई भाडामा लाग्ने इन्धन शुल्क समायोजन गरेपछि मङ्गलबारदेखि नयाँ भाडादर लागू भएको हो।
नयाँ भाडादरअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा ८८० रुपैयाँले बढेको छ। काठमाडौँ–सुर्खेततर्फ ६९०, काठमाडौँ–नेपालगन्ज ६५५, काठमाडौँ–भद्रपुर ६०५, काठमाडौँ–विराटनगर ४८०, काठमाडौँ–भैरहवा ४१०, काठमाडौँ–तुम्लिङटार ३७०, काठमाडौँ–पोखरा ३१५, काठमाडौँ–जनकपुर २६० र काठमाडौँ–सिमरा १८० रुपैयाँले भाडा बढेको छ।
यस्तै, काठमाडौँबाट हुने पर्वतीय उडानको भाडा ६८५ रुपैयाँले बढेको छ। पोखरा–भद्रपुरमा ८१०, पोखरा–धनगढीमा ६८५ र पोखरा–जनकपुरमा ५२५ रुपैयाँले भाडा वृद्धि भएको छ।
इन्धन शुल्क समायोजनसँगै हेलिकोप्टर चार्टर तथा उद्धार उडानको भाडासमेत बढाइएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरमा उद्धार उडानको ब्लक–टाइम दर १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित एक लाख २८ हजार रुपैयाँ कायम गरिएको छ।
काठमाडौँ–पोखरा हेलिकोप्टर उडानको भाडा तीन लाख ८२ हजार रुपैयाँ पुगेको छ भने विराटनगर पाँच लाख ७३ हजार, भैरहवा पाँच लाख नौ हजार, धनगढी १३ लाख ९९ हजार र सुर्खेत १० लाख १७ हजार रुपैयाँ पुगेको छ। हुम्ला र दार्चुलातर्फको हेलिकोप्टर उडान दर क्रमशः १३ लाख ९९ हजार र १६ लाख ५३ हजार रुपैयाँ कायम गरिएको छ।

