ओखलढुंगामा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरीको हेलिकप्टरबाट उद्धार
ओखलढुंगा,साउन २० । ओखलढुङ्गामा आर्थिक वर्ष २०८२/८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत आकस्मिक हवाई उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुत्केरी हुन नसकेका, प्रसूतिको क्रममा अत्यधिक रक्तस्राव भएका तथा आमा र गर्भस्थ वा नवजात शिशुको ज्यान उच्च जोखिममा परेका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट काठमाडौँलगायत सुविधा सम्पन्न अस्पतालमा पुर्याएर उपचार गरिएको हो।
दुर्गम भौगोलिक अवस्था, कठिन सडक पहुँच र विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण जटिल प्रसूतिका बिरामीले समयमै उपचार नपाउँदा आमा र शिशुको जीवन जोखिममा पर्ने अवस्था रहेकाले हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको प्रशासनले जनाएको छ।
स्थानीय तह, स्वास्थ्य संस्था र सङ्घीय निकायबीचको समन्वयमा उद्धार प्रक्रिया अघि बढाइने गरिएको छ। स्थानीय तहका अध्यक्ष वा उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हेलिकप्टर परिचालन गरी उद्धार गर्ने व्यवस्था रहेको छ।
स्वास्थ्यकर्मीका अनुसार जटिल प्रसूतिका अवस्थामा केही घण्टाको ढिलाइले समेत गम्भीर परिणाम निम्त्याउन सक्ने भएकाले दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्धार सेवा जीवनरक्षक बन्दै गएको छ।
समयमा उद्धार गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार गराउँदा जोखिममा रहेका आमा तथा नवजात शिशुको जीवन जोगाउन महत्वपूर्ण योगदान पुगेको प्रशासनले जनाएको छ।

