मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त
काठमाडौँ, साउन २० । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँ निवासी याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा पर्वतका प्रा. डा. खड्गबहादुर केसी र सचिवमा भोजपुरकी प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको छ। पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ पनि चरणबद्ध रूपमा देशभर कार्यान्वयन गर्ने निर्णय भएको छ।
यसैगरी, सुनसरी र सिराहा जिल्लामा हालै भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको उचित उपचारको व्यवस्था मिलाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

