सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत दिने सरकारको निर्णय
काठमाडौँ, साउन २० । सरकारले सुनसरी र सिरहामा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएकाहरूका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा प्रदर्शनका क्रममा मृत्यु तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
घटनामा सुनसरीमा तीन र सिरहामा एक गरी चार जनाको मृत्यु भएको छ। बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
मन्त्रिपरिषद्ले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने तथा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्ने निर्णय पनि गरेको छ।त्यसैगरी, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ।

