अगस्टमा औसतभन्दा निकै कम वर्षा, मनसुन सक्रिय रहे पनि वर्षा कमजोर



काठमाडौँ,साउन २० । मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार अगस्ट महिनाको औसत वर्षा ४३७ दशमलव ६ मिलिमिटर हुने गरेकामा हालसम्म जम्मा ५८ दशमलव २ मिलिमिटर वर्षा मात्र मापन भएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५ दशमलव ७ मिलिमिटर वर्षा भएको छ। देशभरका ४२९ वर्षा मापन केन्द्रमध्ये २११ केन्द्रमा वर्षा मापन गरिएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटको सङ्गोलीमा १०८ दशमलव २ मिलिमिटर वर्षा भएको छ। यस अवधिमा सबैभन्दा बढी अधिकतम तापक्रम सिरहाको लहानमा ३६ दशमलव ० डिग्री सेल्सियस र सबैभन्दा कम न्यूनतम तापक्रम मनाङको हुम्डेमा १० दशमलव ० डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुन सक्रिय रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। वर्षासँगै नदी तथा खोलानालाको आसपासका क्षेत्रमा सतर्कता अपनाउन र मौसमसम्बन्धी नियमित सूचना अनुसरण गर्न विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्