पहिरोले अवरुद्ध नुवाकोटको बुढिसेरा–कुण्डला सडक खुल्यो



नुवाकोट,साउन २० । मध्यपहाडी सडकखण्डअन्तर्गत नुवाकोटको बुढिसेरा हुँदै कुण्डला जोड्ने सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

मंगलबार राति परेको अविरल वर्षाका कारण शिवालय नजिकै पहिरोसहित सालको रुख ढलेपछि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा कुण्डला, शिवपुरी र पञ्चकन्यालगायत क्षेत्रमा आवतजावत गर्ने यात्रु अलपत्र परेका थिए।

शिवपुरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकृष्ण थापासहित स्थानीयवासीको सक्रियतामा सडकमा ढलेको रुख तथा पहिरो पन्छाएपछि बुधबार दिउँसोदेखि सडक सञ्चालनमा आएको स्थानीय सुशील पाण्डेले जानकारी दिनुभयो।

सडक खुलेसँगै उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रुलाई सहज भएको छ।

प्रतिक्रिया दिनुहोस्