वडाध्यक्ष न्यौपानेद्वारा विदुरमा वेवारिसे अवस्थामा रहेका जेष्ठ नागरिकको उद्धार



नुवाकोट,साउन २० । नुवाकोटको विदुर नगरपालिका–५ वडा चौतारामा वेवारिसे अवस्थामा बस्दै आएका एक अशक्त जेष्ठ नागरिकको उद्धार गरिएको छ। विदुर नगरपालिका–५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले ६९ वर्षीय बुद्धिबहादुर मिजारको उद्धार गर्नुभएको हो।

लिखु गाउँपालिका–६ घर बताउने मिजार केही समयदेखि बाडाचौतारामा असहाय अवस्थामा बस्दै आउनुभएको थियो। उहाँको अवस्था थाहा पाएपछि वडाध्यक्ष न्यौपानेले उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याउनुभएको थियो।

अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराएपछि मिजारलाई देविघाटस्थित जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा राखिएको छ। उहाँको संरक्षण र आवश्यक हेरचाहका लागि प्रतिष्ठानमा व्यवस्थापन गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो।

अशक्त तथा सहारा आवश्यक पर्ने जेष्ठ नागरिकको संरक्षणमा स्थानीय तह र समुदायको समेत भूमिका महत्वपूर्ण हुने वडाध्यक्ष न्यौपानेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्