नदीमा हामफालेका वृद्ध दम्पती बेपत्ता
काभ्रे,साउन २० । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार ६८ वर्षीय केदारनाथ पराजुली र उहाँकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली बुधबार साँझ नदीमा हामफालेर बेपत्ता हुनुभएको हो।
प्रहरीका अनुसार दम्पतीले साँझ करिब साढे ६ बजे भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिरनजिकबाट सुनकोशी नदीमा हामफाल्नुभएको थियो।
तिलकुमारी बोनम्यारो क्यान्सरका कारण शारीरिक रूपमा अशक्त रहनुभएको र सोही कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
घटनालगत्तै प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली परिचालन गरी खोजी गरिए पनि साँझसम्म दम्पती फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो।
बेपत्ता दम्पतीको खोजीका लागि सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

