रसुवाको ठुलोगाउँ स्वास्थ्यचौकीमा टेलिमेडिसिन सेवा, गाउँमै विशेषज्ञ चिकित्सकको परामर्श
रसुवा,साउन २१ — गाउँवासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटसँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिका–स्थित ठुलोगाउँ स्वास्थ्यचौकीमा आधुनिक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ।
उत्तरगया गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तार गर्ने उद्देश्यले स्वास्थ्यचौकीलाई आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराएको हो। सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले ग्रामीण क्षेत्रका बिरामीलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा लिन सहज हुनुका साथै उपचारमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले स्वास्थ्य उपकरणको प्रभावकारी सञ्चालन र सुरक्षामा विशेष ध्यान दिँदै सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।
गाउँपालिकाका अनुसार टेलिमेडिसिन सेवा सञ्चालनमा आएपछि ठुलोगाउँका बासिन्दाले आफ्नै स्वास्थ्यचौकीबाट विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श तथा उपचार सेवा लिन पाएका छन्।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय, सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्यसहित गाउँपालिकाले टेलिमेडिसिन सेवालाई प्राथमिकतामा राखेको जनाएको छ।
आवश्यक उपकरण प्राप्त भएपछि स्वास्थ्यचौकीका स्वास्थ्य प्राविधिकसमेत उत्साहित भएका छन्।

