नुवाकोटका बजारमा छड्के अनुगमन, गुणस्तरहीन वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी
नुवाकोट,साउन २१— बजारमा गुणस्तरहीन वस्तु बिक्री वितरण भइरहेको गुनासो बढेपछि नुवाकोटका विभिन्न बजारमा छड्के अनुगमन गरिएको छ। संयुक्त बजार अनुगमन टोलीले विदुर नगरपालिका–२, ४ र ९ का विभिन्न किराना पसल तथा ग्यास डिपोमा एकैपटक अनुगमन गरेको हो।
सरोकारवालासहितको टोलीले उद्योग तथा वाणिज्यतर्फका विभिन्न पसलमा समेत अनुगमन गरेको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार अनुगमनका क्रममा एलपी ग्यासको अवस्था, मूल्यदर तथा व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्डको पालना भए–नभएको निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा दैनिक उपभोग्य सामग्री तथा इन्धनको अवस्था, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, वस्तुको गुणस्तर, लेबल, नापतौल, खाद्यवस्तुको खरिद तथा बिक्री बिललगायत विषयमा निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको र पहिलो पटकका लागि सुधारको सुझाव दिइएको कार्यालयले जनाएको छ।
केही व्यवसायीलाई आवश्यक कागजातसहित उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, विदुरमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ। बजारमा गुणस्तरीय र सर्वसुलभ मूल्य कायम गर्न तथा कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायीलाई सचेत गराइएको कार्यालयले जनाएको छ।
यसैबीच, सर्वसाधारण तथा उपभोक्ताले भने बजार अनुगमनलाई औपचारिकतामा मात्र सीमित नगरी नियमित बनाउन माग गरेका छन्। केही महिनाको अन्तरमा मात्र अनुगमन गर्ने प्रवृत्तिले बजारमा प्रभावकारी नियमन हुन नसकेको गुनासो गर्दै उपभोक्ताले कम्तीमा महिनैपिच्छे अनुगमन गर्नुपर्ने बताएका छन्।
खाद्यवस्तुको गुणस्तर र स्वास्थ्य सुरक्षाका विषयमा उपभोक्ताबाट गुनासो तथा उजुरी आउने क्रम रहेकाले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

