स्तनपानको महत्वबारे त्रिशूली अस्पतालमा अन्तरक्रिया
नुवाकोट,साउन २१ । नुवाकोटको त्रिशूली अस्पतालमा विश्व स्तनपान सप्ताहको अवसरमा बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको छ।
“दिगो जीवनको स्वस्थ सुरुआत : प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने मूल नाराका साथ साउन १६ देखि २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइँदै छ।
सोही अवसरमा जनस्वास्थ्य कार्यालय, त्रिशूली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र विदुर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा स्तनपानको महत्व, सही तरिका तथा आमा र शिशुको स्वास्थ्यमा यसले पार्ने सकारात्मक प्रभावबारे जानकारी दिइएको थियो। स्वास्थ्यकर्मीहरूले स्तनपान शिशुको पहिलो र उत्तम पोषणको स्रोत भएकाले आमाहरूलाई निरन्तर सहयोग र प्रोत्साहन आवश्यक रहेको बताएका थिए।
जनस्वास्थ्य कार्यालयका पोषण अधिकृत जनार्दन सिलवालका अनुसार कार्यक्रममा सुनौला हजार दिनका आमाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा आमाहरूबीच स्तनपानको अभ्यास, चुनौती र समाधानका विषयमा खुला छलफलसमेत गरिएको थियो।

