नुवाकोटमा यातायात व्यवस्थापन सम्बन्धि छलफल: सवारी दुर्घटना न्यूनीकरणमा जोड



नुवाकोट,साउन २१ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु, स्थानीय तह तथा सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुधबार आयोजित यातायात व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले सवारी साधनको नियमित जाँच, ट्राफिक नियमको पालना, सडकको अवस्थाबारे समयमै जानकारी र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

वर्षायाममा सडक चिप्लो हुने, पहिरो खस्ने तथा दृश्यता कम हुने भएकाले थप सतर्कता अपनाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले सुरक्षित यात्राका लागि गति नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सवारी साधनको प्राविधिक अवस्था नियमित परीक्षण गर्न जोड दिनुभयो।

कार्यक्रममा यातायात व्यवसायी, ट्राफिक प्रहरी, राजनीतिक दलका प्रतिनिधि, नागरिक तथा पत्रकारको सहभागिता रहेको थियो। छलफलका क्रममा केही दिनअघि पासाङल्हामु यातायात व्यवसायीले यात्रुसँग बढी भाडा लिएको विषयसमेत उठाइएको थियो।

सहभागीहरूले प्रदेश सरकारले तोकेको सार्वजनिक यातायात भाडादर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, यात्रुलाई तोकिएको भाडाभन्दा बढी रकम नलिने र यातायात सेवा सुरक्षित, व्यवस्थित तथा यात्रुमैत्री बनाउन सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्