खोलामा भेटिएको वृद्धको शवको पहिचान खुल्यो



झापा,साउन २१ । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा भेटिएको वृद्धको शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१, बुधबारे नमुना टोलका ६८ वर्षीय पद्मबहादुर थेगिम लिम्बू हुन्।

बुधबार दिउँसो करिब ४ः३५ बजे टाँगटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएर किनारमा ल्याएको अवस्थामा शव देखिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। मृतकको मृत्युको कारण भने शव परीक्षण प्रतिवेदन प्राप्त भएपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्