राष्ट्रियसभा बैठक आज, पाँच संसदीय समितिको बैठक पनि बस्दै
काठमाडौं,साउन २१ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्नेछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ।
राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
पाँच संसदीय समितिको बैठक
यसैबीच, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठकसमेत बस्दैछ। अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गरिनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगका पदाधिकारीसँग आयोगको कामकारबाही तथा प्रगतिका विषयमा छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।
अपराह्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदनसमेत पेस गरिनेछ।
बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती तथा भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ।
त्यस्तै, अपराह्न २ः३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था तथा समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

