मागअनुसार ग्यास आपूर्ति गर्न नसकेको निगमको स्वीकारोक्ति
काठमाडौं,साउन २१ । नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यास आपूर्ति गर्न नसकेको स्वीकार गरेको छ। निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले उपभोक्ताको अस्वाभाविक माग बढेकाले समस्या भएको बताउनुभयो।
निगमले भारतीय आयल कर्पोरेसनसँग मासिक ६० हजार मेट्रिक टन ग्यास माग गरे पनि तत्काल थप आपूर्ति गर्न नसकिने जवाफ पाएको जनाएको छ। सरकारले पहल गरी मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास सुनिश्चित गरे दसैँतिहारअघि आपूर्ति सहज हुने निगमको भनाइ छ। बरालले ग्यास अभाव दुई साताभित्र समाधान हुने आश्वासन दिनुभयो।
समितिले ग्यासको सहज आपूर्ति, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। यसैबीच, आपूर्ति समस्या तत्काल समाधान गर्न मन्त्रालय, निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ।
बुधबार पनि उपत्यकाका विभिन्न बिक्री केन्द्रमा ग्यास नपाउँदा उपभोक्ता रित्तो सिलिन्डर लिएर फर्किएका थिए। बजार अनुगमनका क्रममा मागअनुसार आपूर्ति नभएको तथा बढी मूल्य लिने र सिलिन्डर साट्न नदिने जस्ता गुनासा आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

