पचाल झरना सय प्रमुख पर्यटकीय गन्तव्यमा



कालिकोट,साउन २१ । कालीकोटको पचाल झरना नेपालका प्रमुख एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा पचाल झरना ६४औँ स्थानमा सूचीकृत भएको हो।

समुद्री सतहबाट करिब ९७० मिटरको उचाइमा रहेको झरना ३८१ मिटर लामो छ। यो तेह्रथुमको ह्यातुङ झरनाभन्दा १६ मिटर अग्लो रहेको बताइएको छ।

पचालझरना गाउँपालिका–४ मा रहेको झरना खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाको मध्यभागमा पर्छ। यसको पानी करिब १० किलोमिटर बगेर कर्णाली नदीमा मिसिन्छ।

झरनाको पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा प्रविधिमैत्री क्युआर कोड निर्माण गरिएको छ। स्थानीय तहले कर्णाली करिडोरसँग जोडेर आन्तरिक तथा भारतीय पर्यटक आकर्षित गर्ने योजना अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्