मृग जोगाउने क्रममा पेट्रोल ट्याङ्कर पल्टियो, आगलागी हुँदा पूर्ण रूपमा ध्वस्त



रौतहट,साउन २१ । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा ध्वस्त भएको छ।

बिहीबार बिहान बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा मृग आएपछि जोगाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको थियो। ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो नियन्त्रणमा लिइएको थियो। घटनामा ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। महेन्द्र राजमार्गमा यातायातसमेत सुचारु रहेको छ।

ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ का करिब २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ। घटना चन्द्रपुर नगरपालिकाबाट करिब १३ किलोमिटर पश्चिमको जङ्गल क्षेत्रमा भएको हो।

प्रतिक्रिया दिनुहोस्