सात वर्षपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, दुई घण्टामै यात्रा



चितवन,साउन २१ । निर्माण सुरु भएको झण्डै सात वर्षपछि नारायणगढ–बुटवल सडकखण्डको यात्रा सहज बनेको छ। केही समयअघिसम्म घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेको यो सडकमा अहिले सामान्यतया दुई घण्टामै नारायणगढबाट बुटवल पुग्न सकिने यात्रुहरू बताउँछन्। निजी सवारीमा कतिपयले एक घण्टा ३० मिनेटमै सडक पार गर्न थालेका छन्।

गत वर्षसम्म दाउन्ने क्षेत्रमा हुने जामका कारण यात्रुहरूले सडकमै रात बिताउनुपर्ने अवस्था थियो। वर्षा र चाडपर्वका समयमा यो सडक हुँदै यात्रा गर्नेहरू लामो समयसम्म जाममा फस्ने गरेका थिए। अहिले भने सडक फराकिलो र सहज बनेपछि विगतका दुःखद यात्रा सम्झनामा सीमित हुन थालेका छन्।

ग्यास उद्योगी विमल कालाखेतीले गत साता बुटवलबाट नारायणगढ एक घण्टा ३० मिनेटमै आइपुगेको अनुभव सुनाउनुभयो। उहाँका अनुसार सडकमा अहिले कुनै उल्लेख्य अवरोध छैन।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्य पनि नारायणगढबाट एक घण्टा ५० मिनेटमै घर पुगेको बताउनुहुन्छ। परिवारसहित निजी सवारीमा यात्रा गर्दा निकै सहज भएको उहाँको भनाइ छ। विगतमा नारायणगढबाट साँझ ६ बजे हिँडेर भोलिपल्ट बिहान १० बजे मात्रै घर पुगेको स्मरण गर्दै उहाँले अहिले सडकले विगतका दुःख बिर्साएको बताउनुभयो।

सञ्चारकर्मी प्रकाश ज्ञवालीले पनि बुधबार बुटवलबाट दुई घण्टामै नारायणगढ आइपुगेको बताउनुभयो। उहाँले विगतमा यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको स्मरण गर्नुभयो। दसैं मनाउन भरतपुरबाट रुपन्देहीको सैनामैना जाँदा परिवारसहित १२ घण्टा सडकमै बिताउनुपरेको उहाँको भनाइ छ।

भरतपुरका एक कर्मचारीले निजी सवारीमा नारायणगढबाट बुटवलको चौराहा चोकसम्म एक घण्टा ४४ मिनेटमै पुगेको बताउनुभयो। बाटोमा दुई स्थानमा रोकिएर शौच गर्दा समेत उक्त समयमा गन्तव्यमा पुगेको उहाँको भनाइ छ।

सडक निर्माणका कारण विगतमा बुटवल, पाल्पालगायत क्षेत्रबाट चितवन आउने यात्रुले पोखरा, कालीगण्डकी करिडोर हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था थियो। कतिपय यात्रु भैरहवाबाट विमान हुँदै काठमाडौं र त्यसपछि चितवन पुग्ने गरेका थिए।

चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालका अनुसार पहिले रातभर जाममा बस्नुपर्ने सडक अहिले यात्रु चढाउने–झार्ने क्रममै करिब तीन घण्टामा पार गर्न सकिने भएको छ। विगतमा दैनिक सवारी टुटफुट र मर्मत गर्नुपर्ने समस्या रहे पनि अहिले त्यस्तो समस्या नरहेको उहाँले बताउनुभयो।

नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार सडक निर्माणको काम करिब ९२ प्रतिशत सम्पन्न भएको छ। सडक सुरक्षा र केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

नारायणगढदेखि बुटवलसम्म ११३ दशमलव ३५ किलोमिटर दूरी रहेको सडकलाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण गरिएको हो। करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।

चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा पाएको आयोजनाको काम विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको थियो। सुरुमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटकपटक म्याद थप हुँदै आएको छ।

६५ किलोमिटरको नारायणगढ–दाउन्ने खण्डलाई पूर्वी र ४९ किलोमिटरको दाउन्ने–बुटवल खण्डलाई पश्चिमी खण्डका रूपमा निर्माण गरिएको हो। पुरानो दुई लेनको सडकलाई चार लेनमा विस्तार गरिएको छ भने बस्ती भएका क्षेत्रमा छ लेन बनाइएको छ। बजार क्षेत्रमा २८ किलोमिटर सडक छ लेन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्