मतदाता नामावली अद्यावधिकदेखि खोप कार्यक्रमसम्म स्थानीय तहलाई समन्वय गर्न मन्त्रालयको आग्रह



काठमाडौं,साउन २१ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकदेखि निजी फलफूल नर्सरी सुदृढीकरण र राष्ट्रिय खोप कार्यक्रमसम्मका काममा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले बुधबार देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई वडास्तरमै मतदाता नामावली अद्यावधिक गर्न आवश्यक सहयोग गर्न आग्रह गरेको हो।

निर्वाचन आयोगले साउन १५ गतेको बैठकबाट वडास्तरमै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ। सो क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाएर अद्यावधिक गरिनेछ। उक्त कार्य भदौ १५ गतेसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ।

त्यस्तै, निजी फलफूल नर्सरीको क्षमता विस्तार तथा बिरुवाको गुणस्तर सुधारका लागि पनि प्रस्ताव माग गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने कार्यक्रममा सहभागी नर्सरीधनीले ५० प्रतिशतसम्म अनुदान पाउनेछन्। इच्छुकले आवश्यक कागजातसहित केन्द्रीय आयोजना व्यवस्थापन इकाइ, कीर्तिपुरमा एक महिनाभित्र आवेदन दिनुपर्नेछ।

मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन पनि स्थानीय तहलाई आग्रह गरेको छ। खोप छुटेका बालबालिकाको पहिचान गरी खोपको पहुँच बढाउन तथा तराई र भित्री मधेशका जिल्लामा आवश्यकताअनुसार समुदायस्तरमा थप खोप केन्द्र सञ्चालन गर्न भनिएको छ।

नियमित खोप केन्द्र समुदायबाट टाढा भए पायक पर्ने स्थान छनोट गरी सेवा सञ्चालन गर्न तथा भीडभाड हुने क्षेत्रमा थप व्यवस्था मिलाएर खोप सेवा सहज र प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्