संवेदनशील विषयमा सांसद पनि जिम्मेवार हुनुपर्छ : गृहमन्त्री गुरुङ
काठमाडौं,साउन २१ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले गृह मन्त्रालय शान्तिसुरक्षा कायम गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउनुभयो। छानबिनका क्रममा रहेका संवेदनशील विषयमा अनुसन्धान भइरहेकाले बाहिरबाट पटक–पटक टिप्पणी गर्न उपयुक्त नहुने उहाँको भनाइ थियो।
गृहमन्त्री गुरुङले संवेदनशील विषय उठाउँदा सांसदहरू पनि उत्तिकै संवेदनशील हुनुपर्नेमा जोड दिँदै पीडित परिवारको भावनालाई समेत ध्यान दिन आग्रह गर्नुभयो। उहाँले अनुसन्धानका विषयमा व्यक्तिगत रूपमा भेटेर जानकारी लिन सकिने बताउनुभयो।
निर्मला पन्त प्रकरणबारे भने गृहमन्त्री गुरुङले थप टिप्पणी गर्न नचाहेको बताउनुभयो। यसबीच सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस भएको बताउनुभयो। प्रश्न गर्नु सांसदको र त्यसको जवाफ दिनु मन्त्रीको अधिकार भएकाले यो संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको उहाँले उल्लेख गर्नुभयो।
फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो।उहाँले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना अघि बढाइरहेको र आत्महत्या रोकथामका लागि ११६६ हेल्पलाइनमार्फत निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो।

