सुनकोशीमा हाम फालेका पराजुली दम्पतीको खोजी जारी



काभ्रेपलान्चोक,साउन २१ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी जारी छ।

बुधबार साँझ करिब ६ः३० बजे ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बुधबार रातिदेखि नै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि उनीहरू फेला परेका छैनन्। बिहीबार बिहानैदेखि थप सुरक्षा टोली परिचालन गरी खोजीलाई तीव्रता दिइएको छ।

सशस्त्र प्रहरीले र्‍याफ्ट बोट र ड्रोन क्यामेराको प्रयोग गरी नदी तथा आसपासका क्षेत्रमा खोजी गरिरहेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार तिलकुमारी बोनम्यारो क्यान्सरका कारण अपाङ्ग अवस्थामा रहेको बताइएको छ।

घटनाको कारणबारे समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ। हालसम्म दम्पतीको अवस्था थाहा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्