६४७ किलो गाँजासहित दुई जना पक्राउ



धनकुटा,साउन २१ । धनकुटाको भेडेटारबाट प्रहरीले ६४७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा जाँच गर्ने क्रममा गाँजासहित ट्रक चालक र सहचालक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ र सहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो।

धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रक जाँच गर्ने क्रममा कालो प्लास्टिकमा प्याक गरी राखिएका ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ। उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्