काङ्ग्रेस विवादसम्बन्धी सर्वोच्चको अघिल्लो आदेश पुनरावलोकन हुने
काठमाडौं,साउन २१ । नेपाली काङ्ग्रेसको आन्तरिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अघिल्लो आदेश पुनरावलोकन गर्न अनुमति दिएको छ।
काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिने सर्वोच्च अदालतको आदेश पुनरावलोकनको माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले दायर गर्नुभएको निवेदनमाथि बिहीबार पूर्ण इजलासमा सुनुवाइ भएको हो।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिएको हो। अनुमति पाएसँगै देउवाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनुवाइ हुने भएको छ।
यसअघि न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै देउवा पक्षको रिट खारेज गरेको थियो।
उक्त आदेशमा कानुनी त्रुटि रहेको दाबी गर्दै देउवाले गत साउन ७ गते वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गराउनुभएको थियो।विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुग्नुभएको थियो।
उहाँहरूले निर्वाचन आयोगसँगै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाउनुभएको थियो।

