ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका निम्सदाइको परिवारद्वारा गोपनीयता सम्मान गर्न आग्रह
म्याग्दी,साउन २१ । पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० आरोहीका पार्थिव शरीर परिवारलाई बुझाउने तयारी भइरहेका बेला उहाँका दाजु कमल पुर्जाले शोकाकुल परिवारको गोपनीयता र भावनाको सम्मान गर्न आग्रह गर्नुभएको छ।
कमल पुर्जाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै अन्त्येष्टि तथा श्रद्धाञ्जलीका कार्यक्रमबारे परिवारको निर्णयलाई प्राथमिकता दिन सबैमा अनुरोध गर्नुभएको हो। उहाँले दुःखको यस घडीमा परिवारलाई दया, सहानुभूति, धैर्य र समझदारीका साथ साथ दिन आग्रह गर्नुभएको छ।
विशेषगरी साना बालबालिका, नजिकका आफन्त तथा शोकमा रहेका परिवारका सदस्यको गोपनीयता, मानसिक अवस्था र भावनाको सम्मान गर्न उहाँले अनुरोध गर्नुभएको छ। व्यक्तिगत रूपमा सबैलाई भेट्न वा अन्त्येष्टि कार्यक्रममा सहभागी गराउन सम्भव नहुने भन्दै परिवारको पहिलो प्राथमिकता आफ्ना प्रियजनको भावनात्मक स्वास्थ्य र हितको संरक्षण गर्नु रहेको उहाँले उल्लेख गर्नुभएको छ।
विश्वका विभिन्न स्थानमा आयोजना भएका श्रद्धाञ्जली सभा, सामूहिक प्रार्थना, स्मृति समारोह तथा सम्मान कार्यक्रममार्फत १० जना आरोहीप्रति व्यक्त गरिएको श्रद्धाका लागि उहाँले शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ।
व्यक्तिगत रूपमा उपस्थित हुन नसक्नेहरूले आफ्नै घर, समुदाय, पूजा–आराधनास्थल वा मौन श्रद्धाञ्जलीमार्फत दिवङ्गत आरोहीलाई सम्झन सक्ने भन्दै उहाँले त्यस्तो प्रार्थना र सद्भाव पनि परिवारका लागि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
दिवङ्गत आरोहीका पार्थिव शरीर आ–आफ्नो देशमा पुर्याएपछि अन्त्येष्टिसम्बन्धी कार्यक्रम र आवश्यक जानकारी पुष्टि हुनेबित्तिकै सार्वजनिक गरिने कमल पुर्जाले जानकारी दिनुभएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिनुभएका निर्मल पुर्जा ‘निम्सदाइ’ विश्व पर्वतारोहण क्षेत्रमा परिचित हुनुहुन्थ्यो। गत साता पाकिस्तानस्थित आठ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी उहाँको निधन भएको थियो।
उहाँको निधनपछि नेपालसहित विश्वभरका पर्वतारोहण समुदाय र शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै आएका छन्। उहाँको परिवार बेलायतमा रहेकाले पार्थिव शरीर बेलायत लगेर अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
यसैबीच, हिमपहिरोमा परी ज्यान गुमाएका गोरखाका पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्ता’ को पार्थिव शरीर बिहीबार नेपाल ल्याइएको छ।

