गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने



धनगढी,साउन २२ — सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा कैलालीको गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम तीव्र रूपमा अघि बढिरहेका छन्। आवश्यक उपकरण व्यवस्थापन, शैक्षिक जनशक्ति नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा पुगेकाले एक महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो।

यसै शैक्षिकसत्रदेखि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको र त्यसअनुसार आवश्यक बजेट तथा सैद्धान्तिक र प्राविधिक प्रक्रिया अघि बढेको उहाँको भनाइ छ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ। उपकुलपति जोशीले प्रदेश सरकारको निर्णयले विश्वविद्यालय र प्रदेशका अस्पतालबीच सहकार्यको दायरा विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

उहाँका अनुसार विश्वविद्यालयले विद्यार्थीको प्रयोगात्मक शिक्षण र समुदायस्तरको अभ्यासका लागि आवश्यकताअनुसार तीनै तहका सरकारको स्वामित्वमा रहेका अस्पतालसँग सहकार्य गर्न सक्छ। प्रादेशिक अस्पतालसँगको सहकार्यले गेटामा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालको शय्या विस्तारमा कुनै अवरोध नहुने उहाँले स्पष्ट पार्नुभयो।

“अन्य अस्पतालसँग सहकार्य गर्नु विश्वविद्यालयको आधारभूत पक्ष हो। यसले शिक्षण सिकाइको दायरा विस्तार गर्ने हो, गेटामा काम रोकिने होइन”, उपकुलपति जोशीले भन्नुभयो। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी ऐन, २०८२ को दफा २० मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा त्यस्ता अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्न सकिने व्यवस्था छ।

तर विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले भने गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय विगतमा पनि भए पनि कार्यान्वयन नभएकाले आशङ्का कायमै रहेको बताउनुभयो। शिक्षण कार्यसँगै विशिष्टीकृत अस्पताल सञ्चालनलाई मुख्य मागका रूपमा अघि सारिएको भन्दै उहाँले दुवै काम सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

विश्वविद्यालयले यसै शैक्षिकसत्रदेखि चिकित्साशास्त्रतर्फ ५० जना, स्नातक तहको नर्सिङतर्फ ३० जना, मेडिकल ल्याब प्रविधितर्फ २० जना र अप्टोमेट्रीतर्फ २० जना विद्यार्थी भर्ना गरी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदन दिइसकिएको छ भने ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको जनाइएको छ।

चिकित्सा शिक्षा आयोगको टोलीले आगामी भदौमा विश्वविद्यालयको स्थलगत अध्ययन गर्ने र त्यसपछि बाँकी प्रक्रिया अघि बढाउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्