अविरल वर्षाले नुवाकोटका विभिन्न स्थानमा पहिरो, सडकमार्ग अवरुद्ध
नुवाकोट,साउन २२— अविरल वर्षासँगै नुवाकोटका विभिन्न स्थानमा पहिरो जाँदा सडकमार्ग अवरुद्ध भएका छन्। पहिरोका कारण ग्रामीण तथा अन्तरजिल्ला सडकमा आवतजावत प्रभावित भएको छ भने केही बस्तीसमेत जोखिममा परेका छन्।
सूर्यगढी गाउँपालिका–२ स्थित राम्चेभीरमा पहिरो खसेपछि चोकदे–बोहोरेभञ्ज्याङ हुँदै लच्याङ, उर्लेनी तथा रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न बस्तीमा हुने आवतजावत ठप्प भएको छ। सडक माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यात्रु तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ।
गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेका अनुसार पहिरो पन्छाउने काम सुरु भइसकेको छ। थप पहिरो नखसे शुक्रबारसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो। स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा समुदायको पहलमा पूर्वाधार विकास कार्यालय नुवाकोटले पहिरो हटाउने काम तीव्र बनाएको छ।
यसैगरी सूर्यगढी गाउँपालिका–२ र ३ को सीमास्थित रातमाटे भीरमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडक सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाइएको छ।ककनी गाउँपालिका–५ काउलेथानाबाट थानसिंह जाने सडकसमेत निरन्तरको वर्षाका कारण भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएपछि सवारीसाधनसँगै पैदल यात्रुको आवागमनसमेत बन्द भएको छ।
अविरल वर्षाका कारण ककनी, सूर्यगढी र दुप्चेश्वरलगायत जिल्लाका विभिन्न स्थानमा पहिरो जाने तथा सडक अवरुद्ध हुने क्रम बढेको छ। कतिपय बस्ती जोखिममा परेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री एवं नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि सरोकारवाला निकाय र सुरक्षा निकायसँग नियमित समन्वय भइरहेको बताउनुभएको छ। उहाँले जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन र आवश्यक परे सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न आग्रह गर्नुभएको छ।
सम्बन्धित निकायले पहिरो प्रभावित क्षेत्रमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भावित जोखिम भएका स्थानमा नजान तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

