नुवाकोटमा फैसला कार्यान्वयन अभियान तीव्र, फरार आठ प्रतिवादी पक्राउ
नुवाकोट,साउन २२— फैसला कार्यान्वयनको क्रममा नुवाकोट प्रहरीले विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा फैसला भएका आठ वटा मुद्दाका आठ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलासका क्रममा बुधबार पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि नुवाकोट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा राष्ट्रिय वनको काठ कटान, बिक्रीवितरण तथा ओसारपसार मुद्दामा बेलकोटगढी नगरपालिका–१२ का प्रविन श्रेष्ठ, वसन्त श्रेष्ठ र डिल्लीराम सिलवाल रहेका छन्। उनीहरूलाई जनही २० रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।
त्यस्तै, वन्यजन्तु मारेको मुद्दामा सोही वडाका मरिचमान लामालाई ४०० रुपैयाँ, चेक अनादर मुद्दामा विदुर नगरपालिका–१२ का राजकुमार देवकोटालाई ५०० रुपैयाँ र झुट्टा विवरण पेस गरी नागरिकता बनाएको कसुरमा म्यागङ गाउँपालिका–६ की सानुमाया तामाङलाई १४ हजार १०० रुपैयाँ जरिवाना तोकिएको थियो।
यसैगरी अभद्र व्यवहार मुद्दामा किस्पाङ गाउँपालिका–१ का राजेन्द्र तामाङलाई ३७६ रुपैयाँ र विदुर नगरपालिका–१ का विनोद डंगोललाई ३८८ रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।
प्रहरी नायब उपरीक्षक हवारीका अनुसार पक्राउ परेका सबैलाई सम्बन्धित निकायमा बुझाई फैसला कार्यान्वयन गरिएको छ।नुवाकोट प्रहरीले अदालत तथा प्रशासनबाट फैसला भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।

