शारीरिक अशक्त नुवाकोटका सुधांशुलाई घरमै पुगेर नागरिकता प्रदान
नुवाकोट,साउन २२— नुवाकोटको तादी गाउँपालिका–५ का शारीरिक रूपमा अशक्त सुधांशु राईलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।
इलाका प्रशासन कार्यालय सातबिसेका कर्मचारीको टोलीले राईको घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो। शारीरिक रूपमा अशक्त सेवाग्राहीलाई सरकारी सेवा लिन कार्यालयसम्म पुग्न कठिन हुने भएकाले सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ।
नागरिकता प्रमाणपत्र पाएपछि राईलाई सरकारी सेवा तथा आवश्यक अन्य कामका लागि सहज हुने भएको छ। घरमै पुगेर नागरिकता पाएपछि राई र उनका परिवारजनले खुसी व्यक्त गरेका छन्।
अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान हुने सेवा तथा सुविधामा सहज पहुँच पुर्याउन यस्ता घरदैलो सेवा प्रभावकारी हुने विश्वास गरिएको छ। इलाका प्रशासन कार्यालयले आवश्यकताअनुसार अशक्त तथा विशेष अवस्थाका सेवाग्राहीलाई घरमै पुगेर सेवा उपलब्ध गराउने जनाएको छ।

