आठ सुरुङमार्ग निर्माणाधीन, छहरे-टोखासहित २३ अध्ययनमा
काठमाडौँ, साउन २२ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल सुरुङमार्ग निर्माणको नयाँ चरणमा प्रवेश गरेको छ। हाल देशभर आठ वटा सुरुङमार्ग निर्माणाधीन छन् भने २३ वटा सुरुङमार्ग अध्ययन क्रममा रहेका छन्।
सडक विभागका अनुसार निर्माणाधीन आठ सुरुङमार्गमध्ये काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा सात वटा र सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग रहेका छन्। द्रुतमार्गमा धेन्द्रे, लेनडाँडा, महादेवटार, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिर सुरुङ निर्माण भइरहेका छन्।
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ७० प्रतिशत र सुरुङ निर्माणको काम ९२ प्रतिशत पूरा भएको छ। आगामी कात्तिकभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
अध्ययन भइरहेका सुरुङमार्गमा कुलेखानी–भीमफेदी, खुर्कोट–सिन्धुली, धरान–लेउती, मझिमटार–शक्तिखोर, दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी र टोखा–छहरे गुर्जुभञ्ज्याङ लगायत २३ वटा छन्।
सुरुङमार्ग निर्माणले पहाडी सडकको दूरी छोट्याउने, यात्रा समय तथा इन्धन खर्च घटाउने र यातायातलाई सुरक्षित तथा नियमित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

