कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउन १ देखि लागू



काठमाडौँ,साउन २२ । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार नयाँ तलबमान स्वीकृत गरेको हो। चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको १० प्रतिशत तलब वृद्धि र थप १० प्रतिशत प्रोत्साहन भत्ता कार्यान्वयनका लागि नयाँ तलबमान कायम गरिएको हो।

नयाँ तलबमानअनुसार मुख्यसचिव र प्रधानसेनापतिको तलब दुई ग्रेडसहित ९० हजार ५९४ रुपैयाँ पुगेको छ। सचिवको ८४ हजार ५७६, सहसचिवको अधिकतम ७७ हजार ४० र प्रहरी तथा सशस्त्र प्रहरी महानिरीक्षकको ८४ हजार ५७६ रुपैयाँ कायम भएको छ।

माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकको तलब छ ग्रेडसहित ७४ हजार ९५८ रुपैयाँ र प्रदेश तथा स्थानीय तहका एघारौँ तहका अधिकृतको ७७ हजार ६२९ रुपैयाँ पुगेको छ।

नयाँ तलबमान साउन १ गतेदेखि लागू हुनेछ। यसबाहेक प्रोत्साहन र महँगी भत्तासमेत पाउने भएकाले कर्मचारीको कुल आम्दानी थप बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्