उपभोक्ता अदालत फेरि नेतृत्वविहीन



काठमाडौं,साउन २२ । उपभोक्ता अदालत पुनः नेतृत्वविहीन भएको छ। अदालतका अध्यक्ष डा. दिवाकर भट्टको रौतहट जिल्ला अदालतमा सरुवा भएपछि अदालतमा नेतृत्व रिक्त भएको हो।

आमउपभोक्तालाई न्याय दिने उद्देश्यले २०८१ चैत २ गते स्थापना भएको अदालत यसअघि पनि करिब छ महिना नेतृत्वविहीन थियो। नेतृत्व नहुँदा उपभोक्ता ठगी, बजारसम्बन्धी विवाद तथा अन्य उजुरीको फैसला प्रभावित हुने देखिएको छ।

अदालतमा हालसम्म ६८ मुद्दा दर्ता भएका छन्। तीमध्ये चिकित्सकीय लापर्बाहीका २१, सवारीसाधनसम्बन्धी १७, निर्माण सामग्री ठगीका नौ तथा टिभी र ल्यापटप खरिदसम्बन्धी सात मुद्दा छन्। हालसम्म ४२ मुद्दा फस्र्योट भइसकेका छन्।

तीन सदस्यीय इजलास रहने उपभोक्ता अदालतमा अध्यक्षका रूपमा जिल्ला न्यायाधीश रहने व्यवस्था छ। विपक्षी उपस्थित भएको ९० दिनभित्र फैसला गर्ने कानुनी लक्ष्य भए पनि जटिल मुद्दामा विशेषज्ञको राय आवश्यक पर्ने भएकाले केही ढिलाइ हुने गरेको अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्