आज पनि देशभर वर्षाको सम्भावना



काठमाडौं,साउन २२ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर आसपास र पश्चिमी क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेको छ।

आज देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी सूचना नियमित हेर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्