बढी ग्यास बुलेट भित्रिँदा पनि बजारमा अभाव
वीरगन्ज,साउन २२ । केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि वीरगन्ज नाकाबाट ग्यास बोकेका बुलेटको आयात भने बढेको छ। साउन १ देखि २० गतेसम्म ९७९ बुलेट भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिभन्दा १२० वटा बढी हो।
नेपाल आयल निगमका अनुसार वीरगन्ज नाकाबाट मुलुकको करिब ६० प्रतिशत खाना पकाउने ग्यास भित्रिन्छ। साउनमा थप ८२२ बुलेट आयातका लागि आदेश दिइसकिएको र थप ८८ बुलेटको आदेश दुई दिनभित्र दिने तयारी छ।
निगमका वीरगन्ज कार्यालय प्रमुख मोहनप्रसाद साहले ग्यास नपाइने हल्लाका कारण उपभोक्ताले घरका सबै सिलिन्डर भरेर राख्दा बजारमा अभाव देखिएको बताउनुभयो। उहाँले केही दिनमै अभाव हट्ने दाबी गर्नुभयो।
यसैबीच, खुद्रा मूल्यको बिलबिजक जारी नगरी ग्यास बिक्री गरेको पाइएपछि वीरगन्जको सुगर ग्यास उद्योगलाई २० हजार रुपैयाँ जरिबाना गरिएको छ।

