धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट



काठमाडौं, साउन २२ । अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनसेवामा जिल्ला प्रहरी कार्यालय धादिङ लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले असार महिनामा गरेको कार्यसम्पादन मूल्याङ्कनमा एसपी नेतृत्वमा रहेका देशभरका १५ पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये धादिङ पहिलो भएको हो।

प्रशासनिक सुधार, अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार तथा लागूऔषध नियन्त्रण, राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान र फैसला कार्यान्वयनलगायतका सूचकमा धादिङ प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनमा उल्लेख छ।

त्यस्तै राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, अनुशासन, शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायसँगको समन्वय तथा विपद् व्यवस्थापनमा पनि प्रहरीले प्रभावकारी काम गरेको जनाइएको छ।

सीमित स्रोतसाधनका बाबजुद अपराध नियन्त्रण र जनकेन्द्रित सेवामा सक्रियता देखाएको भन्दै धादिङ प्रहरीको प्रशंसा भएको छ। समुदाय–प्रहरी साझेदारीअन्तर्गत विद्यालयमा सचेतनामूलक कार्यक्रम तथा स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन गर्दै आएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्