एक वर्षमा चार करोड ३८ लाख माछाका भुरा उत्पादन



जनकपुर,साउन २२ । केन्द्रले एक वर्षमा चार करोडभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री वितरण गरेको छ। मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरेको हो।

भुरा बिक्रीबाट केन्द्रले ३४ लाख ३५ हजार ५३६ रुपैयाँ आम्दानी गरेको छ। यस्तै, सरकारी सम्पत्ति बहालबाट तीन लाख २४ हजार ३०० रुपैयाँ र अन्य प्रशासनिक सेवा प्रवाहबाट ५९ हजार रुपैयाँ आम्दानी भएको केन्द्रले जनाएको छ।

केन्द्रबाट उत्पादित माछाका भुरा मधेस प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा बागमती प्रदेशका काठमाडौं, सिन्धुली, रामेछाप र दोलखा र कोशी प्रदेशको सुनसरीलगायत जिल्लाका किसानले खरिद गर्दै आएका छन्।

केन्द्रले रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्पका भुरा उत्पादन गर्दै आएको छ। गत आर्थिक वर्षमा केन्द्रले चार करोड ७५ लाख पाँच हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा दुई हजार किलो खाने माछा उत्पादन गरेको थियो।

विसं २०१८ मा स्थापना भएको केन्द्रमा ७८ वटा माछापोखरी छन्। तीमध्ये १९ वटा पोखरी हाल प्रयोगविहीन अवस्थामा छन्। केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई तालिम तथा प्राविधिक ज्ञानसमेत दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्