सांसदद्वारा विपत्ति, आपूर्ति र उपचारका विषयमा सरकारको ध्यानाकर्षण



काठमाडौं,साउन २२ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति, स्वास्थ्य उपचार, दैनिक उपभोग्य वस्तुको आपूर्ति लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले इलामसहित पहाडी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण अन्य क्षेत्रसँगको सम्पर्कबाट प्रभावित भएको भन्दै तत्काल सडक तथा यातायात सञ्चालनका लागि पहल गर्न सरकारसँग माग गरेका छन्। बोनम्यारो पीडितको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हामफालेर बेपत्ता भएको भनिएका श्रीमान्–श्रीमतीको खोजी कार्यलाई प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

यस्तै, कृषि मल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा कृत्रिम अभाव हुन नदिन नियमित बजार अनुगमन गर्न र तराईका जिल्लामा सर्पदंशको उपचार सहज बनाउन सांसदहरूले आग्रह गरेका छन्। विभिन्न सडक मार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल सडक सञ्चालन गर्न पनि माग गरिएको छ।

बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै जनकपुरको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको विषयमा समेत सरकारको जवाफ माग गरे।

सांसद यादवले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले सरकारलाई यस विषयमा जवाफ दिन रुलिङ गरेका छन्। बैठकमा सांसदहरू कृपाराम राना, युवराज दुलाल, ध्रुवराज राई र खुश्बु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गरे।सांसदहरूले तराई–मधेशमा हिन्दु र मुस्लिम समुदायबीच बढेको तनाव अन्त्य गर्न सरकार जिम्मेवार भएर अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्