थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, चार जनाको मृत्यु, १५ विद्यार्थी घाइते



काठमाडौं,साउन २२ । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा रहेको एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा १५ जना विद्यार्थी घाइते भएका छन्।

नोन्थाबुरी प्रान्तस्थित विद्यालयमा भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको आन्तरिक उपमन्त्री पोलापी सुवुन्चवीले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलाउने व्यक्ति किशोर विद्यार्थी रहेको र घटनामा उनको पनि मृत्यु भएको छ। यद्यपि, उनी प्रहरीको गोलीबाट मारिएको वा आफैँले ज्यान गुमाएको भन्नेबारे फरक–फरक विवरण सार्वजनिक भएका छन्।

प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनालाई निकै भयानक भन्दै विद्यालयमा यस्तो घटना हुनै नहुने बताउनुभएको छ। आन्तरिक उपमन्त्री पोलापीका अनुसार संदिग्धले हाते बन्दुक प्रयोग गरेका थिए। उनले बन्दुक कसरी प्राप्त गरे भन्नेबारे अनुसन्धान भइरहेको छ।

घटनापछि विद्यालय आसपासको यातायात प्रभावित भएको थियो भने अभिभावकहरू आफ्ना छोराछोरीलाई लिन विद्यालय पुगेका थिए।

थाइल्यान्डमा बन्दुकको स्वामित्वको दर उच्च रहेको बताइन्छ।यसअघि पनि विद्यालय तथा बालबालिका लक्षित गोलीकाण्डका घटना भएका छन्। सन् २०२२ मा देशको उत्तरी क्षेत्रमा रहेको एक बालसदनमा पूर्वप्रहरीले गरेको आक्रमणमा २४ बालबालिकासहित ३६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्