ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका १० आरोहीको सम्झनामा ठमेलमा दीप प्रज्वलन
काठमाडौँ, साउन २२ । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका १० जना आरोहीको सम्झनामा काठमाडौँको ठमेलमा दीप प्रज्वलन गरिएको छ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहीबार साँझ भएको दीप प्रज्वलनमा हिमपहिरोमा परी ज्यान गुमाएका छ नेपालीसहित १० जना आरोहीको चीरशान्तिको कामना गरिएको हो।
हिमपहिरोमा परी नेपालका चर्चित आरोही निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको थियो।
त्यस्तै, ओमानका नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी मलोरी गाइसको पनि हिमपहिरोमा परी निधन भएको थियो।
दीप प्रज्वलन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, परिषद्का अध्यक्ष राजुमान डङ्गोल, पूर्वअध्यक्ष भविश्वर शर्मा, वरिष्ठ पर्यटन व्यवसायी रमेश धमला, नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष कुमारमणि थपलियालगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो।

