नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सुझाव
काठमाडौँ, साउन २३ । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउन र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउन चिकित्सकले सुझाव दिएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका चिकित्सकका अनुसार आमाको दूध शिशुको पोषण र रोग प्रतिरोधात्मक क्षमता विकासका लागि महत्वपूर्ण हुने भएकाले यसलाई ‘पहिलो खोप’का रूपमा लिइन्छ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ५५ प्रतिशत शिशुले जन्मेको एक घण्टाभित्र स्तनपान पाउने गरेका छन् भने ५६ प्रतिशत शिशुले पहिलो छ महिनासम्म पूर्ण स्तनपान गर्ने गरेका छन्।
स्तनपान प्रवर्धनका लागि परिवार, स्वास्थ्य संस्था, रोजगारदाता र राज्यबीच समन्वय आवश्यक रहेको चिकित्सकले बताएका छन्। नेपालमा आमाको दूध उपलब्ध हुन नसक्ने नवजात शिशुका लागि सन् २०२२ मा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘अमृत कोष’ मानव दूध बैंकसमेत स्थापना गरिएको छ।

