पूरा सिलिन्डर वितरणपछि ग्यासको माग बढ्दा अभाव : मन्त्री कुमारी
काठमाडौँ, साउन २३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पूरा सिलिन्डर बिक्री सुरु भएपछि एकैपटक माग बढ्दा बजारमा एलपी ग्यासको अभाव भएको बताउनुभएको छ।
प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। ग्यासको आपूर्ति सहज बनाउन भारत सरकारसँग कोटा बढाउन आग्रह गरिएको र ४५ भन्दा बढी ग्यास डिपोको अनुगमन गरिएको उहाँले बताउनुभयो।
हाल ५८ ग्यास उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको मन्त्री कुमारीले जानकारी दिनुभयो। सभामा सांसदहरूले ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्दै आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका थिए।

