आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन २३ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर साधारणतया बदली रहने तथा हिमाली र पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

