एलपी ग्यास लुकाएर महँगोमा बेच्नेलाई कडा कारबाही गर्ने चेतावनी



काठमाडौँ,साउन २३ । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास लुकाएर आफू निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गर्ने र बढी मूल्य असुल्ने गुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागका महानिर्देशक मोतीराम सापकोटाले ग्यास उपभोक्ताको प्राथमिकताका आधारमा तोकिएको मूल्यमा सहज रूपमा उपलब्ध गराउन विक्रेता तथा डिपोलाई निर्देशन दिनुभएको छ । ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा बढी मूल्यमा बिक्री गर्ने कार्य कानुनविपरीत भएकाले हदैसम्मको कारबाही गरिने उहाँले बताउनुभयो ।

विभागले उपभोक्ता ठगिएको वा कानुनविपरीत गतिविधि भएको पाइए नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्