राष्ट्रिय उद्योग पुनर्जीवनको बाटोमा : प्रधानमन्त्री बालेन



काठमाडौँ,साउन २३ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले लामो समयदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानहरूलाई पुनर्जीवन दिने सरकारी प्रयासबाट आशालाग्दा परिणाम देखिन थालेको बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले नियत सफा, जिम्मेवारीप्रति इमान्दारिता र निरन्तरको समन्वय तथा सहकार्यबाट चुनौतीपूर्ण अवस्थामा पनि सुधार सम्भव हुने उल्लेख गर्नुभएको ।

उहाँका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा तीन करोड रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ ।

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको र परीक्षणस्वरूप कपडा उत्पादनसमेत सुरु भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ ।

त्यस्तै, नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र अघिल्लो वर्षको तुलनामा आम्दानी बढेको उहाँले बताउनुभएको छ ।

दुग्ध विकास संस्थानमा किसानको बक्यौता भुक्तानी चक्र घटाइएको, दूध बिक्री तथा राजस्व बढेको र अनावश्यक सुविधा कटौतीबाट वार्षिक करिब तीन करोड रुपैयाँ बचत भएको प्रधानमन्त्रीको भनाइ छ । संस्थानले घ्यू, बटर र छुर्पी विदेश निर्यातको तयारीसमेत गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

सिंहदरबार वैद्यखानाबाट सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण भएको र हाल १०५ प्रकारका औषधि उत्पादन भइरहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा समेत नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्