चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ



सुनसरी, साउन २३ । बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरी रहेका छन्।

उनीहरूलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्