हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी
बैतडी, साउन २३ । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा बैतडीमा प्रभावकारी बन्दै गएको छ।
पछिल्लो तीन महिनामा जिल्लाका १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरण गर्ने लक्ष्य राखेकामा १७८ जनालाई घरमै सेवा प्रदान गरिएको हो।
बाँकी राहदानीसमेत सम्बन्धित पालिकामार्फत सेवाग्राहीको घरमा पठाइसकिएको कार्कीले जानकारी दिनुभयो। जिल्लाका सबै स्थानीय तहमा हुलाकमार्फत राहदानी वितरण सेवा पुगेको छ।
नौवटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ भने दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयबाटै सेवा दिइँदै आएको छ।

