ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, एक वर्षमै पुगे ३७ हजारभन्दा बढी



बागलुङ, साउन २३ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।पछिल्लो एक वर्षमा ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन्।तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ।

आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ६९२ र २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका थिए। एक वर्षमै पर्यटकको सङ्ख्या १३ हजारभन्दा बढीले बढेको हो।

ढोरपाटन क्षेत्रमा भइरहेको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार निर्माण, होटल तथा घरबासको विकाससँगै बुकीपाटन, बुकीफूल र जलजलामा पदयात्राको आकर्षण बढेपछि पर्यटकको सङ्ख्या वृद्धि भएको सुवेदीले बताउनुभयो।

पर्यटकको सङ्ख्या बढेसँगै आरक्षले प्राप्त गर्ने राजस्वसमेत बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो राजस्व ३१ लाख २१ हजार ५०० रुपैयाँ थियो।

पछिल्लो समय विदेशी पर्यटक सिकार खेल्न मात्रै नभई ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला अवलोकनका लागि पुग्ने गरेका छन्। समुद्री सतहबाट दुई हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि चार हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्।

आरक्ष कार्यालयले पर्यटकका लागि पालसहित शुल्क तिरेर बस्न सक्ने व्यवस्था पनि मिलाएको छ। पर्यटक प्रवेशका लागि नेपालीलाई १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ शुल्क लिने गरिएको छ।

यसैगरी ढुङ्गा, गिट्टी र बालुवाबाट आर्थिक वर्ष २०८२/८३ मा एक करोड एक लाख २७ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त आम्दानी ४६ लाख ४१ हजार रुपैयाँले बढी हो।

प्रतिक्रिया दिनुहोस्