नुवाकोट पञ्चकन्यामा मध्यराति पहिरोसहितको बाढी, तीन घरमा क्षति
नुवाकोट, साउन २३ । अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित वैद्य टोलमा गएराति पहिरोसहितको बाढी आउँदा तीन घरमा ठूलो भौतिक क्षति भएको छ।
मध्यराति अचानक आएको पहिरोसहितको लेदो माटो सुरेश थपलिया, श्याम थपलिया र उमेश थपलियाको घरभित्र पसेपछि परिवारहरू प्रभावित भएका हुन्। पहिरोको तीव्र बहावले घरका भित्तासमेत भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा र ओछ्यानलगायतका सामग्री हिलोमा पुरिएका छन्।
घटनाको जानकारी पाएलगत्तै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’को नेतृत्वमा गाउँपालिकाका कर्मचारी, नगर प्रहरी र पञ्चकन्या इलाका प्रहरी कार्यालयको टोली मध्यरातिमै घटनास्थल पुगेको थियो। टोलीले मुसलधारे वर्षा र प्रतिकूल अवस्थाबीच प्रभावित परिवारको उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ।
पहिरोका कारण घरबारविहीन भएका तीन परिवारका लागि तत्काल सुरक्षित बासस्थानको व्यवस्था गरिएको छ। अध्यक्ष तामाङसहितको टोलीले आज दिनभर घटनास्थलमै खटिएर कोदालो, बेल्चा र साबेलको प्रयोग गरी घर तथा बाटोमा जमेको लेदो माटो र पहिरो पन्छाउने काम गरेको छ।
अध्यक्ष तामाङले प्रभावित परिवारलाई आवश्यक राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
यसैबीच, विपद्को समयमा उद्धार तथा व्यवस्थापनमा खटिनुपर्ने सशस्त्र प्रहरीको टोली घटनास्थलमा नपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन्। सञ्चार विच्छेद वा समयमा सूचना नपुगेका कारण टोली पुग्न नसकेको हुनसक्ने स्थानीयको अनुमान छ। यद्यपि, विपद्का बेला सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने स्थानीयको भनाइ छ।

